काठमाडौं। भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको किल्ला भत्किएको छ।
भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीको किल्ला रहँदै आएकोमा रास्वपाका रुकेश रन्जित ३३ हजार ४३६ मतसहित विजयी भएका हुन्।
निकटतम प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवालले २८ हजार १७८ मात्रै पाए। कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२, एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१, राप्रपाका भरत खड्काले २ हजार ४७२ र नेकपाका हरिराज लवजुले ११ सय ७७ मत पाएका छन्।
सुवाल ०७९ को निर्वाचनमा ३० हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए। सुवालले ४२ हजार ७६१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरेका थिए।
०७४ मा पनि सुवाल नै विजयी भएका थिए। ०४८ सालदेखि नै भक्तपुर १ नेमकिपाले चुनाव जित्दै आएको क्षेत्र हो।
सुवालअघि नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे विजयी हुँदै आएका थिए।












