काठमाडौं । संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा निर्वाचित भएका छन्।
राष्ट्र संघका प्रमुख इकाईहरूमध्ये एक मानिने इकोसकमा थापा सन् २०२५–२०२६ का लागि अध्यक्ष निर्वाचित भएका हुन्। नेपालको तर्फबाट इकोसकको अध्यक्ष बन्ने यो पहिलोपटक हो, जसले अन्तर्राष्ट्रिय कूटनीतिक इतिहासमा नेपालका लागि एउटा ऐतिहासिक अवसरको प्रतिनिधित्व गरेको छ।
यसअघि थापा सन् २०२४–२०२५ को कार्यकालका लागि इकोसकको उपाध्यक्ष थिए। दुई वर्षअघि संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा न्यूयोर्क पुगेका थापा यसअघि बेल्जियम र युरोपियन युनियन (ईयू) का लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालीसकेका छन्।
न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा बिहीबार बसेको बैठकमार्फत परिषद्को नयाँ नेतृत्व चयन गरिएको हो। थापाको अध्यक्षमा निर्वाचन भएसँगै निवर्तमान अध्यक्ष तथा क्यानाडाका स्थायी प्रतिनिधि बब रेले ग्याभल हस्तान्तरण गर्दै थापालाई औपचारिक रूपमा अध्यक्षको पदमा पदस्थापना गरेका थिए।
अध्यक्षमा निर्वाचित भएपछि थापाले नेपाललाई इकोसकको नेतृत्व गर्ने अवसर प्रदान गरेबापत सबै सदस्य राष्ट्रहरूलाई आभार व्यक्त गर्दै यो जिम्मेवारीलाई नेपालको बहुपक्षीयताप्रतिको प्रतिबद्धताको रूपमा व्याख्या गरे।
इकोसक संयुक्त राष्ट्रसंघका छ वटा प्रमुख अंगहरूमध्ये एक हो, जसले विश्वव्यापी आर्थिक र सामाजिक सहयोग तथा विकास प्रवर्द्धन गर्ने कार्य गर्दछ। परिषद्मा ५४ सदस्य राष्ट्रहरू रहन्छन्, जसलाई महासभाबाट तीन वर्षको कार्यकालका लागि क्षेत्रीय आधारमा चयन गरिन्छ।

इकोसकले दिगो विकासदेखि मानव अधिकारसम्मका विषयमा राष्ट्रसंघका विशेषज्ञ एजेन्सी, आयोग र निकायहरूको काम समन्वय गर्छ। साथै, यसले विश्वव्यापी आर्थिक तथा सामाजिक मुद्दाहरूमा बहस, सहमति र क्रियाशीलता बढाउने मुख्य मञ्चको रूपमा काम गर्छ।
थापाका अनुसार इकोसक आजको विश्व विकास एजेन्डा निर्माण गर्न र “कसैलाई पछाडि नछोड्ने” लक्ष्य पूरा गर्न अत्यन्त महत्वपूर्ण अंग हो। ‘इकोसक हाम्रो साझा मञ्च हो। यसलाई सफल बनाउन सदस्य राष्ट्रहरूको समर्पण, सहभागिता र सक्रिय भूमिका अपरिहार्य छ,’ थापाले भने।
थापाले प्रस्तुत गरेका आगामी वर्षका पाँच प्राथमिक क्षेत्र:
१. कृषि रूपान्तरण र भोकमरी अन्त्य
विश्वभर ७३५ मिलियनभन्दा बढी जनसंख्या भोकमरीमा परिरहेका सन्दर्भमा, उनले ग्रामीण क्षेत्रको क्षमता विकासमार्फत कृषि प्रणाली रूपान्तरणलाई पहिलो प्राथमिकता दिएका छन्।
२. डिजिटल उद्यमशिलता र युवाको सशक्तिकरण
धेरै विकासशील मुलुकमा युवाको जनसंख्या उच्च रहेको उल्लेख गर्दै उनले डिजिटल उद्यमशिलता र युवा सहभागितालाई दोस्रो प्राथमिक क्षेत्रको रूपमा राखेका छन्।
३. जलवायु कार्य र विपद् प्रतिरोधात्मक क्षमता
जलवायु विषयमा निरन्तरतासँगै उनले यसपटक विशेष रूपमा हिमताल तथा बाढी सम्बन्धी जोखिममा केन्द्रित हुने बताएका छन्।
४. अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधार
उनको चौथो प्राथमिकता अन्तर्राष्ट्रिय वित्तीय संरचनालाई समावेशी र न्यायोचित बनाउनेतर्फ रहेको छ।
५. इकोसकको ८० औं वार्षिकोत्सवको स्मरण
इकोसक स्थापनाको ८ दशक पूरा भएको अवसरमा यस संस्थाको ऐतिहासिक योगदानलाई मनाउने कार्यक्रम पञ्चौ प्राथमिक क्षेत्रका रूपमा उल्लेख गरिएको छ।
थापाले यी सबै कार्यभारहरू जलवायु परिवर्तन, भू-राजनीतिक तनाव र बहुपक्षीयतामा घट्दो विश्वासजस्ता आपसमा जोडिएका जटिल संकटबीच पूरा गर्नुपर्ने चुनौती स्वीकार गरे।
‘यी चुनौतीहरू प्रणालीगत र अन्तरसम्बन्धित छन्। तिनको सामना एकीकृत, समावेशी र भविष्यमुखी दृष्टिकोणबाट गर्न आवश्यक छ,’ उनले भने।
इकोसकको उपाध्यक्षमा यसपटक अल्जेरिया, आर्मेनिया, डोमिनिकन रिपब्लिक र स्पेन निर्वाचित भएका छन्। संयुक्त राष्ट्र संघको प्रमुख अंगमध्ये एक इकोसकले विश्वव्यापी आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, वातावरण, महिला सशक्तीकरण र मानवअधिकारसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय सहयोग, समन्वय तथा नीति निर्माणमा अग्रणी भूमिका खेल्दै आएको छ।
इकोसक विभिन्न सदस्य राष्ट्रहरू, राष्ट्र संघका अंगहरू, विशेषज्ञ संस्थाहरू र नागरिक समाज (जस्तै गैरसरकारी संस्था) सँग सहकार्य गरी विश्वव्यापी विकासका लक्ष्यहरू प्राप्त गर्न अनुसन्धान, बहस, नीति परामर्श, निर्णय, र अनुगमन गर्ने जिम्मेवारी बोकेको निकाय हो।












