काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशमा आएको बाढीपहिरोमा अहिलेसम्म कुनै पनि नेपाली नागरिकको मृत्यु नभएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका अनुसार उत्तरकाशी जिल्लामा साउन २० गते आएको पहिरोमा परेकामध्ये हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको छ भने घटनास्थलबाट २ जनाको शव फेला परेको छ। मृतक र उद्धार भएकामध्ये कुनै पनि नेपाली नरहेको दूतावासले स्पष्ट पारेको हो।
त्यसैगरी, पौडी गढवाल जिल्लाको बागोडामा साउन २१ गते आएको बाढीपहिरोमा पाँच जना नेपाली हराइरहेको जानकारी प्राप्त भएको छ। घाइते भएका चार जना नेपालीमध्ये तीन जना घर फर्किसकेका छन् भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।
बाढीपहिरो प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेको उपचार र आवश्यक सहयोगका लागि दूतावासले उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग निरन्तर समन्वय गरिरहेको छ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आजै भारतस्थित नेपाली दूतावासलाई भारत सरकारसँग समन्वय गर्दै उद्धार, खोजी तथा उपचारमा सक्रिय रहन निर्देशन दिएकी छिन्।












