काठमाडौं । दुर्गा प्रसाईले एक भिडियो सार्वजनिक गर्दै आफूलाई मार्ने योजना बनाएको थाहा पाएपछि प्रहरीको सुरक्षा घेरा तोडेर सुरक्षित स्थानमा गएको बताएका छन्।
सरकारले शुक्रबार काठमाडौंको तीनकुनेमा आयोजित राजावादी आन्दोलनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईलाई आन्दोलनमा भड्किएको हिंसाको मुख्य जिम्मेवार बनाउँदै पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो।
आन्दोलनमा हिंसा भड्किन थालेपछि भूमिगत भएका दुर्गा प्रसाईले एक भिडियो मार्फत् आफूलाई मार्ने योजनासहित घरको छतहरूमा सार्प सूटर बसेको र गोली आफ्नो कानको छेवैबाट गएपछि आन्दोलनस्थल छाडेको बताएका हुन्।
भिडियोमा उनले आफ्नो कारभित्रै टियर ग्यास खसिसकेपछि आफ्नो ड्राइभरलाई हटाएर आफैँले गाडी हाँकेको बताएका छन्। साथै उनले प्रहरीसित कुनै दुश्मनी नभएको र आफूबाट पर्न गएको चोटप्रति क्षमा मागेका छन्।
उनले अन्त्यमा आफू काठमाडौंकै एउटा मन्दिरमा सुरक्षित रूपमा बसेको र अन्त कतै नभागेको र नभाग्ने दाबी गरेका छन्।












