काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा.अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समितिको सदस्यमा मनोनित भएकी छन्। राष्ट्रिय सभाको बैठकमा सभामुख नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५(२) बमोजिम उनलाई संसदीय सुनुवाई संयुक्त समितिमा मनोनयनको प्रस्ताव पेश गरेका थिए। सभाले प्रस्तावलाई सहमति जनाउँदै शाक्यलाई संयुक्त समितिको सदस्यका रूपमा मनोनित गरेको हो।
डा. शाक्य नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को सिफारिसमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट राष्ट्रपति रामचन्द्र पौडेलले मनोनित गरेकी सांसद हुन्। उनी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा समेत सदस्य रहिसकेकी छिन्। यसअघि उनी राजदूत भएकी थिइन् ।
संसदीय सुनुवाई संयुक्त समितिका सभापति इश्वरीदेवी न्यौपानेले समितिबाट राजीनामा दिएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन भएकी छिन्। न्यौपानेले सभापतिबाट राजीनामा दिएसँगै सुनुवाई समितिको सदस्यबाट समेत हटेकी छिन्।
अब संसदीय सुनुवाई समितिमा १५ जना सदस्य रहेका छन्। राष्ट्रिय सभाबाट रहेका सांसदको संख्या ३ पुगेको छ। शाक्यसहित नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा सदस्य छन्।












