काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। उपभोक्ता अदालतले चिकित्सक र अस्पतालहरूलाई लापरवाहीको आधारमा क्षतिपूर्ति तिराउने आदेश दिन थालेपछि चिकित्सकहरू असन्तुष्ट हुँदै आन्दोलनमा उत्रिएका हुन्।
आजको सेवा बहिष्कारका कारण सामान्य जाँच, शल्यक्रिया, विशेषज्ञ परामर्श लगायत नियमित सेवा बन्द हुँदा बिरामीहरू ठूलो मर्कामा परेका छन्।
नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको निर्णयलाई चिकित्सकीय स्वायत्ततामाथि हस्तक्षेप भन्दै आपत्ति जनाएको छ। संघका महासचिव डा. सञ्जिव तिवारीलाई अदालतको अवहेलनाको आरोपमा पाटन उच्च अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिएपछि आन्दोलन अझ चर्किएको हो।
चिकित्सक संघको नेतृत्वमा सुरु भएको आन्दोलनप्रति नौवटा ठूला स्वास्थ्य संस्थाले ऐक्यवद्धता जनाएका छन्। आन्दोलनरत चिकित्सकहरू भन्छन्, “अदालतले उपचार प्रक्रिया बुझी नबुझी चिकित्सकमाथि क्षतिपूर्तिको निर्णय गरिरहेको छ, जुन व्यवहारिक र न्यायसंगत छैन।”
संघले भनेको छ कि यस्तो आदेशले चिकित्सकहरू डरमा काम गर्न बाध्य हुने र दीर्घकालमा यसले स्वास्थ्य सेवाको गुणस्तरमा नकारात्मक असर पार्न सक्छ।
नेपाल चिकित्सक संघले सरकार र न्यायालयसँग तत्काल संवाद गर्न आग्रह गर्दै आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। यता, स्वास्थ्य मन्त्रालयले भने आम जनताको स्वास्थ्य सेवा प्रभावित नहुने गरी समाधान खोजिने बताएको छ।













