काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले सरकारसँग डराउने कारण नभएको बताएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई विदेश भागेको दाबी गरेकै भोलिपल्ट मंगलबार आफ्नै जलेको निवास परिसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो स्पष्ट पारेका हुन्।
खड्काले प्रश्न गर्दै भने, “सरकारले मलाई वारेन्ट काटेको छ र? बाहिर जान रोक लगाएको छ र? म भागे भन्न मिल्छ? झिनामसिना कुराले मलाई छुँदैन। म डराउँदिनँ।”
उनी जेनजी आन्दोलनका क्रममा २४ भदौमा घरमै रहेको जानकारी पनि दिँदै, आन्दोलनकारीहरूले ढोकामा हान्दा आफैंले खाना खान पाएका नभएको गुनासो व्यक्त गरे। उनले भने, “आर्मीहरूले मलाई सुरक्षित गरेर संरक्षण गरे। २४ गते म घरमै थिएँ, खाना खाँदै थिएँ। मेरो घरमा आगजनी भइरहँदा ढोका ढ्याङ-ढ्याङ गर्दा बच्चालाई पनि खाना खुवाउन पाइनँ। अंगरक्षक साथीहरूले मलाई बाहिर निकाल्नुभयो।”












