काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराध मुद्दा दायर गरिएको छ। युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
साइबर ब्यूरोमा परेको ‘साइबर ब्यूरो ५९’ नामक जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाएको हो। अभियोगपत्रमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ।
जाहेरी अनुसार पाठकले युट्युब च्यानलमार्फत “हिल्टनमा जयवीर देउवाको पैसा” भन्ने शिर्षकसहित कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा, शाहि अग्रवाल र दीपक भट्टको नाम जोड्दै हिल्टन होटलमा लगानीसम्बन्धी सामग्री प्रकाशित गरेका थिए। उजुरीकर्ताको दाबी अनुसार, यस्तो सामग्री सार्वजनिक गर्दा घृणा, द्वेष फैलाउनुका साथै चरित्र हत्या गर्ने प्रयास गरिएको थियो।
अभियोगपत्रमा सामग्री प्रकाशित गर्न प्रयोग भएका कम्प्युटर, सफ्टवेयर, डिस्क, टेप ड्राइभ लगायत उपकरण जफत गर्न र पीडितलाई उचित क्षतिपूर्ति भराउन माग गरिएको छ।
यसअघि साइबर ब्यूरोले पाठकमाथि अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरेको थियो। तर, उच्च अदालतको आदेशअनुसार पक्राउ नगरिने निर्णय भएपछि प्रहरीले उनलाई नियन्त्रणमा नलिई सीधै मुद्दा दायर गरेको हो।












