काठमाडौं । नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगले नेपालको पूँजी बजार र विद्युत् उत्पादन क्षेत्रको विकास र सुदृढीकरणका लागि संयुक्त बैठक सम्पन्न गरेका छन्। बैठक खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको थियो।
बैठकमा पूँजी बजारमार्फत विद्युत् उत्पादन परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय र नीतिगत सामञ्जस्य कायम गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो। दुवै निकायका प्रतिनिधिहरूले दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्रको आवश्यकता रहेकोमा सहमति व्यक्त गरेका छन्।
बैठकमा बोर्ड र आयोगका प्रमुख तथा प्रतिनिधिहरूले बजारमा विश्वास अभिवृद्धि, लगानीका अवसर विस्तार र नेपालको पूँजी बजार तथा विद्युत् उत्पादन क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यले निरन्तर सहकार्य, सूचना आदानप्रदान र संयुक्त पहललाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, पूँजी बजार र विद्युत् क्षेत्रबीचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउन दुवै निकायका प्रतिनिधिहरू सम्मिलित संयुक्त कार्यदल गठन गर्ने प्रस्तावमा छलफल भएको छ। उक्त कार्यदलले लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय र विद्यमान नियम कानुनमा आवश्यक परिमार्जन गर्ने उपायहरू पहिचान गर्नेछ।
बैठकमा बोर्डको तर्फबाट अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, कार्यकारी निर्देशकहरू विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र रुपेश के.सी., र आयोगको तर्फबाट अध्यक्ष डा. राम प्रसाद धिताल, सदस्यहरू डा. मधुसुदन अधिकारी र भगिरथि भट्टराई ज्ञवाली लगायत अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो।












