काठमाडौं । सुन्धारास्थित धरहरा चढ्न आजदेखि शुल्क लाग्ने भएको छ। यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो। गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धरहरा सःशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षणका रूपमा आजदेखि निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने भएको छ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ। स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन्।
यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० रुपैयाँ शुल्क तोकिएको छ। यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन (व्यावसायिकबाहेक) गर्न प्रतिघण्टा रु पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडिओ छायाङ्कन गर्न प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार शुल्क निर्धारण गरिएको छ।












