काठमाडौं । यो वर्ष धान रोपाइँ गत वर्षको तुलनामा केही ढिलाइ देखिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार हालसम्म देशभर ५९ प्रतिशत, अर्थात् ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ। गत वर्ष सोही अवधिमा करिब ६७ प्रतिशत रोपाइँ भइसकेको थियो।
मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्षको असार २९ गतेसम्म झन्डै ८ प्रतिशतले रोपाइँमा कमि आएको हो। मौसमको प्रतिकूलता, अतिवृष्टि, अनावृष्टि तथा अन्य दैवी कारणले केही स्थानमा रोपाइँ ढिलो भएको जनाइएको छ।
प्रदेशगत अवस्था
सुदूरपश्चिम प्रदेश: सबैभन्दा अगाडि, करिब ९३ प्रतिशत रोपाइँ (१ लाख ६४ हजार हेक्टर)
कर्णाली प्रदेश: ८३ प्रतिशत (६४ हजार हेक्टर)
लुम्बिनी प्रदेश: ७३ प्रतिशत (२ लाख २३ हजार हेक्टर)
अन्य प्रदेशहरूमा पनि रोपाइँ जारी रहेको मन्त्रालयले जनाएको छ। साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ।
सूचना अधिकारी महानन्द जोशीका अनुसार, तराई क्षेत्र धान उत्पादनका हिसाबले सबैभन्दा उत्पादक मानिन्छ, जसले कुल उत्पादनको ७० प्रतिशत योगदान दिने गर्छ। पहाडी क्षेत्रबाट बाँकी ३० प्रतिशत उत्पादन हुने गरेको छ।
अघिल्लो वर्षको उत्पादन र यस वर्षको अनुमान
२०७९/८० मा उत्पादन: ५७ लाख २४ हजार मेट्रिकटन
यस वर्षको अनुमानित उत्पादन: करिब ६० लाख मेट्रिकटन
सम्भावित चामल उत्पादन: ३५ लाख मेट्रिकटन (खानयोग्य)
धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा, मुलुकको कुल गार्हस्थ्य उत्पादन (GDP) मा १ प्रतिशत असर पर्ने मन्त्रालयले जनाएको छ। पछिल्लो समय उन्नत जातका बीउबिजन, ज्ञान, सीप र प्रविधिको विकासले गर्दा उत्पादनमा सकारात्मक असर पर्ने विश्वास गरिएको छ।












