काठमाडौं । सभामुख देवराज घिमिरेले युवापुस्ताले उठाएका प्रश्न र मागहरूको सम्बोधन विधिको शासन र संविधानकै बाटोबाट गर्न सकिने बताएका छन्। बडा दसैंको शुभकामना सन्देश दिँदै उनले युवापुस्ताले औंल्याएका मुद्दा सुशासन र पारदर्शितासँग जोडिएका भएकाले लोकतान्त्रिक अभ्यास र संसदीय सर्वोच्चताको बाटोबाट मात्र दिगो समाधान सम्भव हुने बताए।
दसैंको अवसरमा जारी सन्देशमा सभामुख घिमिरेले भनेका छन्, “युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन र पारदर्शितामाथि केन्द्रित छन्। हाम्रो संविधान संशोधनीय दस्तावेज भएकाले ती मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव छ। यही बाटोले मुलुकलाई अँध्यारो सुरूङबाट उज्यालोतर्फ लैजानेछ भन्नेमा म दृढ छु।”
विद्रोहका क्रममा जीवन गुमाएकालाई श्रद्धाञ्जली
हालैको युवाविद्रोहप्रति संवेदना व्यक्त गर्दै सभामुख घिमिरेले जीवन गुमाएका नागरिकलाई श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले नष्ट भएका सरकारी तथा निजी संरचनाको पुनर्निर्माणमा राज्य र समाज दुवैको साझा भूमिका रहने उल्लेख गरे।
दसैं मेलमिलाप र पुनर्मिलनको प्रतीक
सभामुखले सत्यको विजय, असत्यको पराजय, मेलमिलाप र पुनर्मिलनको पर्वका रूपमा दशैंले सबैमा नयाँ उमंग, उत्साह र सद्भाव जगाउने विश्वास व्यक्त गरे। उनले भने, “बडा दसैं मिलन, मेलमिलाप र एकताको चाड पनि हो। पुस्ता–पुस्ताबीच द्वन्द्व होइन, सहकार्य र एकता आवश्यक छ। अग्रजको अनुभव र नवयुवाको जोशलाई एकाकार गर्दै नयाँ नेपालको निर्माणमा सबै लाग्न सकौं भन्नेमा म दृढ छु।”
उनका अनुसार दशैं देवी दुर्गाले दानवीय शक्तिमाथि विजय हासिल गरेको र रामले रावणलाई पराजित गरेको आस्थासँग सम्बन्धित छ। त्यसैले यो पर्व असत्यमाथि सत्य, अन्यायमाथि न्याय र असुरी शक्तिमाथि दिव्य शक्तिको विजयको सन्देश दिन्छ।
साझा संस्कारले एकतामा बाँध्ने पर्व
सभामुख घिमिरेले दशैंलाई नेपाली समाजमा जातजाति, भाषा र भौगोलिक विविधतालाई साझा संस्कारले एकतामा बाँध्ने पर्वका रूपमा स्थापित भएको बताए। उनले यस पर्वले सबैलाई सहिष्णुता, आपसी सद्भाव र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे।












