काठमाडौँ। कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यममार्फत थाहा पाएको बताएका छन्। उनले सार्वजनिक रूपमा आएका विवरणहरूमा भ्रामक र झुटा प्रचारबाजी भएको दाबी गर्दै यथार्थ बुझ्न आग्रह गरेका छन्।
देउवाले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा नियमित रूपमा पेश गरिएको स्पष्ट पारे। उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शिता तथा राज्यका अंगहरूको स्वतन्त्रता र सक्षमताका पक्षमा आफूले जीवनभर संघर्ष गरेको उल्लेख गरेका छन्।
उनले आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको उल्लेख गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण, सुशासन र पारदर्शिता कायम गर्न आफूले विगतमा महत्त्वपूर्ण कानुनी पहल गरेको स्मरण गराए। उनका अनुसार गृहमन्त्री रहेका बेला ०४८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ल्याउन अग्रसरता गरिएको थियो भने प्रधानमन्त्री रहेका समयमा भ्रष्टाचार निवारण ऐन, ०५९ लागू गरिएको थियो।
देउवाले हाल स्वास्थ्य उपचारका लागि आफू र परिवार विदेशमा रहेको तथा उपचारको क्रम जारी रहेको जानकारी पनि दिएका छन्।
उनले समयक्रमसँगै वास्तविकता बाहिर आउने विश्वास व्यक्त गर्दै अतिरञ्जित रूपमा सार्वजनिक गरिएका विवरणबाट भ्रममा नपर्न सबैमा अपिल गरेका छन्।












