काठमाडौं । डेंगु संक्रमण फैलिने जोखिम निकै बढेको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो वर्ष देशभर ६० हजारभन्दा बढी मानिसमा डेंगु संक्रमण हुन सक्ने अनुमान सार्वजनिक गरेको छ।
बुधबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा महाशाखाको किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले यस्तो तथ्य सार्वजनिक गर्दै सावधानी नअपनाए महामारीको रूप लिन सक्ने चेतावनी दिए।
उनका अनुसार साउनदेखि कात्तिक अन्तिमसम्म डेंगु तीव्र रूपमा फैलने संवेदनशील समय भएकाले जुनसुकै स्थान र समयमा संक्रमण बढ्न सक्ने खतरा रहेको छ। हालसम्म ७३ जिल्लामा करिब १६०० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको जानकारी उनले दिए।
डा. दाहालले भने, “धेरै संक्रमितमा लक्षण नदेखिने, परीक्षण नै नगर्ने वा रिपोर्ट नआउने अवस्थाले वास्तविक संक्रमित संख्या कम देखिएको हो।” संक्रमणको यथार्थ परिदृश्य झनै भयावह हुन सक्ने उनले स्पष्ट पारे।
महाशाखाले संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी पूरा भइसकेको र कार्ययोजना कार्यान्वयन चरणमा रहेको जानकारी दिँदै स्थानीय तहको भूमिका निर्णायक हुने बताए। हाल स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै सचेतना, सरसफाइ तथा फोकस एरिया क्लिनअप अभियान सञ्चालन भइरहेका छन्।
सार्वजनिक स्वास्थ्य विज्ञहरूले घर वरिपरि पानी जम्न नदिने, लामखुट्टेले डस्न नपाउने सावधानी अपनाउन आग्रह गरेका छन्।












