काठमाडौं । माल्टामा म्याग्दी स्थायी ठेगाना भएका ४२ वर्षीय खिमबहादुर पुनको ‘हिट एण्ड रन’ दुर्घटनामा मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालका अनुसार आइतबार बिहान बिरकिरकारा क्षेत्रमा भएको घटनामा मोटरसाइकलमा सवार पुनलाई एउटा कारले ठक्कर दिएर भागेको थियो।
स्थानीय प्रहरीले प्रारम्भिक अनुसन्धानमा दुर्घटना बिहान करिब ५ः२० बजे त्रिक साल्भु पसाइला सडकमा भएको बताएको छ। ठक्कर लगाएको कार पार्किङमा रहेका अन्य तीन गाडीमा ठोक्किएको पाइएको छ। कार चालक र दुई जना सवार फरार रहेको प्रहरीले जनाएको छ।
घटनापछि केही मिनेटमा प्रहरीले १८ वर्षीया मोस्टा निवासी युवतीलाई नियन्त्रणमा लिएको छ, जसलाई अस्पताल लगिएको छ। मृतकको शव मातर–देई अस्पतालमा राखिएको छ।
खिमबहादुर पुन तीन वर्षदेखि माल्टामा रोजगारीमा थिए र परिवार पोखरामा बस्दै आएका छन्। माल्टामा करिब १० हजार नेपालीहरू कार्यरत रहेको जनाइएको छ।












