काठमाडौं । भारत प्रयागराजमा महाकुम्भ मेलामा सहभागी भएर फर्किंदै गरेको ५ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । महाकुम्भबाट विआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियोमा महोत्तरीको मनराकट्टी घर फर्किने क्रममा भारत विहारको मुजफ्फरपुर नजिकै हाईवेमा दुर्घटना भएको हो ।
उक्त घटनामा महोत्तरीको मनराकट्टीका ट्राफिक प्रहरी जवान मनोहर झाका परिवारका ५ जनाको मृत्यु भएको छ । जवान झासहित ४ जना घाईते भएका छन् । प्रहरी जवान ट्राफिक प्रहरी कार्यालय सिरहामा कार्यरत रहेका छन् ।
भारतीय मिडिया दैनिक भाष्करका अनुसार मृत्यु हुनेमा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र जिप चालकको मृत्यु भएको हो ।
दुर्घटनामा मनोहर झा, कामिनी झा, सृष्टि ठाकुर, नेपाल प्रहरीका जवान मनोज यादव र एकजना नाम नखुलेका व्यक्ति गीम्भर घाईते भएका छन् । घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियोले एक मोटरसाइकल चालकलाई बनाउने अनियन्त्रित भइ पल्टेको थियो ।
घाइतेलाई मुजफ्फरपुरको एसकेएमसीएच (श्रीकृष्ण मेडिकल कलेज एण्ड हस्पिटल)मा उपचारका लागि भर्ना गरिएको छ ।












