काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिटायरमेन्ट (अवकाश) आफूले चाहेको बेलामात्र लिने स्पष्ट पारेका छन्। सोमबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रिटायरमेन्टको विषय उठाएपछि देउवाले सो प्रतिक्रिया दिएका हुन्।
“म के गर्छु भन्ने मेरो कुरा हो। मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे,” देउवाले शर्मालाई जवाफ दिँदै भने, “म अप्ठ्यारो मान्छे हो नि, विचार गर्नुस्।”
केही दिनअघि देउवाले सार्वजनिक रूपमा अब रिटायरमेन्ट लिने बेला आएको संकेत दिएका थिए। त्यसकै सन्दर्भ जोड्दै शर्माले बैठकमा धन्यवाद दिएका थिए। तर देउवाले त्यसमा सहज प्रतिक्रिया नदिँदै स्पष्ट संकेत दिएका छन् कि रिटायरमेन्टको निर्णय उनी स्वयंको नियन्त्रणमा छ।
यस्तै बैठकमा देउवाले पार्टीको १५औं महाधिवेशन पार्टीको विधान र नेपालको संविधानअनुसार निर्धारित समयमा हुने जानकारी समेत दिए। “विधानले पाँच वर्ष, संविधानले थप ६ महिनासम्मको समय दिएको छ,” देउवाले भने।
हाल कांग्रेसभित्र १५औं महाधिवेशन २०८४ सालको आमनिर्वाचनअघि कि पछि भन्ने विषयमा बहस चलिरहेको छ। देउवाको भनाइले महाधिवेशन समयमै हुने संकेत मिलेको छ, तर नेतृत्व परिवर्तनको मिति अझै अनिश्चित छ।












