काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एकजना प्रहरीलाई नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार नेपाल प्रहरी अन्तर्गत प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक राउतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने तथा मुद्दा मिलापत्र गराइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो।
उक्त सूचना र उजुरीका आधारमा आयोगको टोलीले गहनापोखरी क्षेत्रमा निगरानी राखी राउतलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नियन्त्रणका क्रममा घुसबापत लिइएको २० हजार रुपैयाँ र एक थान मोबाइलसमेत बरामद गरिएको छ।
आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।










