काठमाडौं । बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिन तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सासहित मिथिला क्षेत्र, काठमाडौं उपत्यका तथा अरु विभिन्न ठाउँका जलाशयमा श्रद्धालुको भीड लागेको थियो ।
पारिवारिक सुख, शान्ति, समृद्धिको उद्देश्यले श्रद्धापूर्वक मनाइने छठको अवसरमा पोखरी, नदी, तलाउ, जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । बर्तालुले हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।
अस्ताउँदो सूर्यको पूजा गरेका बर्तालहरु नदी तथा तलाउ किनारमा बनाइएका छठस्थलमै नाचगानसहित जाग्राम बसेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । ब्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गरेका छन् ।
यसैबीच हामीले महोत्तरीको जलेश्वरको छठ बिदाइका केही तस्बिरहरु यहाँ प्रस्तुत गरेका छौं :