काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी धरौटीमा रिहा हुने भएका छन्। आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको एकल इजलासले जोशीलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा जोशी लामो समयदेखि न्यायिक हिरासतमा थिए। यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जोशीलाई पनि रवि लामिछाने सरहकै धरौटी प्रक्रिया पूरा गरी थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने बाटो खोलिदिएको थियो। सोही आदेशको आधारमा जिल्ला अदालतले आज धरौटी माग गरेको हो।
यसै प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने उच्च अदालतको आदेशपछि गत शुक्रबार नै थुनामुक्त भइसकेका छन्। लामिछाने र जोशी दुवैमाथि गोर्खा मिडियामा सहकारीको करोडौँ रकम गैरकानुनी रूपमा ल्याएर अपचलन गरेको आरोप छ।












