काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) यस वर्ष ‘फ्लड लाइट’मा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति हुनेछन्।
प्रतियोगिता १ मंसिरदेखि सुरु हुँदैछ। क्यानले सार्वजनिक बिदाका अधिकांश दिनमा दुई खेल आयोजना गर्ने व्यवस्था गरेको छ। पहिलो खेल पौने १२ बजे, दोस्रो खेल साढे ३ र ४ बजे हुने जनाइएको छ। पहिलो संस्करणमा खेल बिहान ९ र १२ बजे आयोजना गरिएको थियो।
यस संस्करणमा १० हजारभन्दा बढी समर्थकले सिटमै बसेर खेल हेर्न पाउनेछन्। नेपाल सरकारले पहिलो एनपिएलपछि मैदान पुनर्निर्माण गरेको थियो।
उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाजबीच हुनेछ। क्यानले उद्घाटन खेल ४ बजे हुने जानकारी दिएको छ। समूह चरणमा आठ टोलीबीच २८ खेल हुनेछन् र फाइनल मंसिर २७ गते फ्लड लाइटमै आयोजना गरिनेछ।
प्रतियोगितामा साविक विजेता जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्नेछन्।












