काठमाडौं। डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटे पनि सार्वजनिक यातायातको भाडा भने २ प्रतिशत मात्रै घटाइएको छ। इन्धनको मूल्यमा ठूलो कटौती हुँदा पनि त्यसअनुसार भाडा नघटाइएको भन्दै उपभोक्ताबाट प्रश्न उठ्न थालेको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बिहीबारदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडादर २ प्रतिशतले घटाएको हो।
यो निर्णय यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा तराईका मालवाहक सवारी सबैमा समान रूपमा लागू गरिएको छ।
विभागका अनुसार इन्धनको मूल्य घटेको आधारमा मात्रै भाडा निर्धारण नहुने र वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार विभिन्न लागतका आधारमा भाडा समायोजन गरिन्छ।
यातायात व्यवस्था विभागले यसअघि वैशाख १२ मा ५ प्रतिशत भाडा बढाइएको थियो।
नेपाल आयल निगमले हालै गरेको मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ।
इन्धनको मूल्यमा गिरावट आए पनि सार्वजनिक यातायातको भाडा न्यून मात्र घटाइएकाले उपभोक्ताले अपेक्षित राहत नपाएको भन्दै उपभोक्ता अधिकारकर्मीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले इन्धन मूल्य घटेको अनुपातमा सार्वजनिक यातायातको भाडा पनि पारदर्शी र न्यायोचित रूपमा समायोजन हुनुपर्ने माग गरेका छन्।












