कञ्चनपुर। महाकाली नदीमाथि निर्माण गरिएको कञ्चनपुरको दोधारा–चाँदनी झोलुंगे पुल बीच भागबाट चुँडिएर नदीमा लत्रिएको छ। पुलको पिल्लर भत्किएपछि बुधबार बिहान पुल चुँडिएको प्रहरीले जनाएको छ।
भीमदत्त नगरपालिका–१३ पिपरैयादेखि दोधारा चाँदनी नगरपालिका–४ दोधारा जोड्ने पुलको दोधारातर्फको भागमा बुधबार बिहान समस्या देखिएको थियो। सुरुमा पुलको करिब ५–६ मिटर भाग माथि उठेपछि आवतजावतमा समस्या भएको थियो। त्यसलगत्तै पिल्लर भत्किएर पुल बीच भागबाट चुँडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पुल चुँडिएपछि त्यसबाट हुने आवतजावत पूर्ण रूपमा बन्द भएको छ। स्थानीयका अनुसार महाकाली नदीमा पुलको पिल्लर धसिएपछि पुल चुँडिएको हो।
स्थानीय सन्तुराम लुहारले लामो समयदेखि पुलको नियमित मर्मतसम्भार नभएकाले यस्तो अवस्था आएको हुनसक्ने बताए।
०५८ सालमा निर्माण भएको यो झोलुंगे पुल एक हजार मिटरभन्दा लामो छ। निर्माणका बेला यो एसियाकै दोस्रो लामो झोलुंगे पुलका रूपमा परिचित थियो। महाकाली नदीपारिको दोधारा–चाँदनीलाई जिल्ला सदरमुकाम महेन्द्रनगरसहित देशको बाँकी भूभागसँग प्रत्यक्ष जोड्ने उद्देश्यले पुल निर्माण गरिएको थियो।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले पुल छिट्टै मर्मत गरिने बताए। उनका अनुसार पुल चुँडिएको फोटो तथा भिडियो झोलुंगे पुल मर्मत शाखामा पठाइसकिएको छ। प्राविधिक टोली आएर पुलको निरीक्षण तथा मर्मत गर्ने उनले बताए।












