काठमाडौं । बीपी राजमार्गमा पहिरोले सडक अवरुद्ध हुँदा एम्बुलेन्समै एक बिरामीको ज्यान गएको आफन्तले बताएका छन्। महोत्तरीको मनरा शिसवा नगरपालिका–२ का ५५ वर्षीय भरतलाल झालाई ब्रेन ह्यामरेज भई उपचारका लागि काठमाडौं ल्याउने क्रममा झाको मृत्यु एम्बुलेन्सभित्रै भएको हो। मृत्यु भएपछि झाको शव सोही एम्बुलेन्समा पुनः महोत्तरी फर्काइएको छ।
तर जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले भने पहिरोका कारण एम्बुलेन्समै बिरामीको मृत्यु भएको दाबी अस्वीकार गरेको छ। काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार झा सवार एम्बुलेन्स नार्के भन्ने स्थान पहिरो खस्नुभन्दा अगाडि नै पार गरिसकेको थियो।
“उपचारका लागि काठमाडौं ल्याउँदै गरिएको एम्बुलेन्स भकुन्डे आइपुग्दा बिरामीको अवस्था गम्भीर बनेको थियो। स्थानीय अस्पतालमा परीक्षण गर्दा मृत घोषणा गरिएको हो,” डीएसपी घलेले भने। उनका अनुसार पहिरो खसेपछि पनि ४ वटा एम्बुलेन्सलाई रोकिएर बस्न नदिई पार गराइएको थियो।
सोमबार दिउँसो काभ्रेको रोशी गाउँपालिका–९ स्थित नार्केमा माथिबाट खसेको लेदोका कारण बीपी राजमार्ग केही घण्टा पूर्ण अवरुद्ध भएको थियो। यही क्रममा सडकमा ठूलो संख्यामा सवारी जाममा परेका थिए।
स्थानीयले पनि घटनास्थलमा एम्बुलेन्सहरू रोकिएको देखिएको बताएका छन्। तर झा सवार एम्बुलेन्स पहिरो अगावै पार भएको वा रोकिएको भन्ने विषयमा अहिलेसम्म स्पष्ट प्रमाण बाहिर आएको छैन।












