काभ्रेपलाञ्चोक । तीन दिनदेखि पहिरो र लेदोका कारण अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेँसी र रोशी–११ पिप्ले क्षेत्रमा डाइभर्सन निर्माण गरेपछि आइतबार बिहान पौने १२ बजेदेखि यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
लगातारको वर्षाका कारण चौकीडाँडा, नाङ्साल क्रसर, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेँसी, बिरुवाडाँडा र डालाबेँसी लगायत स्थानमा पहिरो र लेदो खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
चारसयबेँसीमा रहेको नाङ्साल क्रसर नजिकबाट निरन्तर सुक्खा पहिरो खसेपछि यातायात रोकिएको थियो। अहिले रोशीखोला किनारमा डाइभर्सन बनाएर सडक सञ्चालनमा ल्याइएको हो।
यद्यपि, रोशी खोलाको किनारा कमजोर रहेको र माथिबाट सुक्खा पहिरो खस्ने क्रम नरोकिएकाले प्रशासनले यात्रु र चालकलाई सावधानी अपनाउन अनुरोध गरेको छ।












