काठमाडौं । नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार गर्ने कसैलाई नछोड्न सरकारलाई आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेसका जति पनि भ्रष्टाचारमा सामेल छन् सबैलाई कारवाही गनुपर्ने बताएका हुन्।
‘आशंका गरिएका दुईवटा फाइलहरू छन्। एउटा नक्कली भुटानी शरणार्थी प्रकरण र अर्को गिरिबन्धु जग्गा प्रकरण। गरिमामय संसदमा उभिएर म कसैलाई दोषी ठहर्याउन चाँहदैन र कसैलाई निर्दोष करार गर्न पनि चाहन्न,’ उनले भने, ‘केवल यति मात्र भन्न चाहन्छु देशको मुहार फेर्न संकल्प लिएर खुलेका दलहरु हुन् कांग्रेस र एमाले । यी दलहरुले सरकारको नेतृत्व गरिरहेको बेला प्रधानमन्त्रीकै शब्दलाई सापट लिएर भन्न चाहन्छु–इमान्दार भएर सबैको अनुसन्धान हुनुपर्छ।’
उनले अनुसन्धानले आफैंमाथि प्रश्न खडा भए अनुसन्धानको दायरामा उभिन आफूहरु तयार भएको उनले बताए। ‘अरूमाथि अनुसन्धानको माग गर्न सजिलो हुन्छ तर गार्हो हुन्छ आफूमाथि अनुसन्धान गर्दा। तर आज म यो जिम्मेवार संसदमा उभिएर गिरिबन्धु जग्गाको ७० प्रतिशत जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने आरोप छ। तर यो प्रकरणमा कांग्रेसका को व्यक्ति हुन हो छानविनको दायरामा ल्याओस,’ उनले भने।
यस्तै, महामन्त्री शर्माले उनले सरकारले शोकमा दुई खालको व्यवहार गरेको टिप्पणी गरे। गत साउन ९ गते सौर्य एयर र गत २०७९ माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा सरकारले फरक व्यवहार गरेको बताएका हुन्।
उनले हवाइ र विमान दुर्घटनापछिको शोकमा पनि सरकारले फरक व्यवहार गरेको उनको भनाइ छ। उनले आगामी दिनमा शोकमा सरकारले फरक व्यवहार नगरोस् भन्दै ध्यानाकार्षण गराए।












