काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्ने बताएका छन् ।
बुटवलमा नेकपा एमालेले शुक्रबार गरेको जनजागरण सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राखे ।
‘दरबारिया र राजतन्त्रका मतियारलाई कहिल्यै नउठ्ने गरी सडकमा पछार्नुपर्छ,’ उनले भने, ‘प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन, राजनीतिक दलहरूले नै हो मुलुकलाई अगाडि बढाउने हो ।’
प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रतिगामी र दक्षिणपन्थीहरूले लगातार प्रहार गरिरहेको भन्दै पौडेलले उनीहरूको प्रयास सफल नहुने दावी गरे ।
उनले भने, ‘एक झट्कामा उनीहरूको चरित्र पर्दाफास भएको छ तर फेरि पनि उनीहरूले टाउको उठाउन सक्छन्, त्यस समयमा हामी फेरि सचेत हुनुपर्नेछ । संविधानको विरोधमा अनर्गल प्रचार गर्ने, नेपालीको एकताको अभियानमा खण्डित बनाउनेसँग सचेत हुनुपर्नेछ ।’
‘दलहरू सधैँ जनतासँग रहेका हुन्छन्, तर दरबारियाहरू आफ्नो स्वार्थमा केन्द्रिकृत हुन्छन्, अहिले एमालेलाई कमजोर बनाउन त्यहीँ शक्ति लागेका छन्, एमालेविरूद्वको प्रहार हो, केपी ओलीविरुद्धको प्रहार हो’, उनले भने, ‘एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो ।’
लुम्बिनीले हरेक आन्दोलनको गौरवमय इतिहास राखेको भन्दै उनले पार्टी एकतामा जोड दिए । नयाँ पार्टीहरूप्रति संकेत गर्दै उनले विचार शून्य र अवसरवादको पर्यायको उदाहरण दिए ।












