काठमाडौं । वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवादलाई समाधान गर्नका लागि डाकिएको सर्वदलीय बैठकले ३ बुँदे प्रतिबद्धता जनाएको छ । हनुमान जयन्तीको अवसरमा हिजो निकालिएको शोभा यात्राका क्रममा भएको विवादलाई समाधान गर्नका लागि आइतबार बिहान सर्वदलीय बैठक डाकिएको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सो बैठकमा दलका प्रतिनिधिहरूले सबै धर्म एवम् सम्प्रदाय सम्बद्ध सङ्घ संस्थाहरू विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने राष्ट्रको मर्म रहेअनुसार शान्ति, अमनचयनमा खलल हुने किसिमका धार्मिक एवम् सामुदायिक प्रकारका र्याली, बन्द आदि कार्यक्रम एवम् गतिविधिहरू कुनै पनि सङ्घ संस्था एवम् समुदायले नगर्ने प्रतिबद्धतासहित सद्भाव कायम गर्न सबैमा अपिल गरेका छन् ।
उनीहरूले झडपका क्रममा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै उपचार राज्यको तर्फबाट गर्नुपर्ने माग समेत गरेका छन् ।

कर्फ्युको अवधि थपियो
जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ।
आज मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर भरे मध्यरात १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ः०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२ः०० बजेसम्मका लागि बढाएको जानकारी दिए।













