काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
जोशी परिवारले हालै इजरायल पुगेर त्यहाँका राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरी विपिनको सकुशल रिहाइका लागि अपिल गरेका थिए। त्यसबारे उनीहरूले प्रधानमन्त्रीलाई समेत जानकारी गराएका हुन्।
प्रधानमन्त्री ओलीले विपिनको रिहाइका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको स्पष्ट पार्दै भने, ‘विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसद् अध्यक्षसँग भेटेर फर्कनु भएको थियो। विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन।’
सरकारले जोशीको छिट्टै रिहाइको लागि निरन्तर प्रयास गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।












