काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन् । जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री डा. राणाले सो जानकारी दिएकी हुन् ।
विपिन जोशीका बुबासहित परिवारका सदस्यहरूले सोमबार परराष्ट्रमन्त्री डा. राणालाई उनको कार्यकक्षमा भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए । उक्त भेटमा मन्त्री डा. राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन् ।
इजरायलमा भएको आक्रमणपछि विपिन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा. राणाले दिइन् ।
आफू परराष्ट्रमन्त्री भएदेखि विपिनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरूलाई विपिको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको जानकारी उनले दिइन् ।












