काठमाडौं । प्यालेष्टिनी हमास समूहले बिहीबार थप ८ जना बन्दी रिहा गर्दैछ । युद्धविराम सम्झौता अन्तर्गत हमासले तीन इजरायली र पाँच थाइ बन्दीलाई रिहा गर्न लागेको टाइम्स अफ इजरायलले जनाएको छ।
इजरायली सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज रिहा हुनेछन्। पाँच थाई नागरिकको नाम भने खुलाइएको छैन।
गाजामा हमासको कब्जामा आठ थाइ बन्दी छन्। नेपालका एक र तान्जानियाका एक जना छन्। थाईका अरु दुई बन्दी र तान्जानियाली नागरिकको मृत्यु भइसकेको बताइएको छ।
द टाइम्स अफ इजरायलले लेखेको छ, ‘गाजामा अझै आठ थाई बन्धक छन्, साथै एक नेपाली र एक तान्जानियाली पनि छन्। तर दुई थाई नागरिक र एक तान्जानियाली भने मृत घोषणा गरिसकिएको छ।’
इजरायल र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको छ। यसबीच उनीहरूले सम्झौताअनुसार आफ्ना नियन्त्रणमा रहेका एकअर्काका नागरिकलाई रिहा गरिरहेका छन्।












