काठमाडौं । हमासले नेपालका विपिन जोशीसहित ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। इजरायली सेनाले गाजामा कारबाही तीव्र पारेको अवस्थामा हमासले उक्त तस्बिर जारी गरेको हो।
सार्वजनिक तस्बिरमा विपिन जोशी पनि देखिएका छन्। विपिनको परिवारले भने यसबारे आधिकारिक जानकारी नआएको बताएकाे छ । इजरायलसँग सम्पर्कमा रहेकाे परिवारले जनाएकाे छ ।
सञ्चार संस्था अल जजिराका अनुसार हमासको मिलिटेन्ट समूह कस्साम ब्रिगेडले अनलाइनमार्फत तस्बिर जारी गरेको हो। तस्बिरमा जीवित र मृत दुवै प्रकारका बन्दी देखिएका छन्। सबै तस्बिरमा ʻरोन अरदʼ लेखिएको छ, जसले १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान रोन अरदलाई जनाउँछ। अरदको एफ–४ फ्यान्टम लडाकु विमान दक्षिणी लेबनानमा आक्रमणको क्रममा दुर्घटनाग्रस्त भएको थियो र उनको वास्तविक अवस्थाबारे ठोस प्रमाण अझै आएको छैन।
हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सम्झौता अस्वीकार गरेको र इजरायली आक्रमणकै कारण बन्दीहरूको जीवन संकटमा रहेको चेतावनी दिएको छ। इजरायलले करिब २० बन्दी जीवित रहेको बताएका छन् भने अमेरिकाले अझै कम हुन सक्ने अनुमान गरेको छ।












