काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयासको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन्। माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा मंगलबार बसेको बैठकमा विपक्षी दलले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले द्वारा उपसभामुखलाई हटाउने षड्यन्त्र भएको भन्दै संयुक्त रूपमा विरोध गर्ने निष्कर्ष निकालेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
सञ्चारमाध्यमसँग कुरा गर्दै पाण्डेले भने,“उपसभामुखलाई हटाउन नहुनेमा सबै विपक्षी दल एकमत छन्। संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक–पटक यस्तो प्रयास भइरहेको छ, जुन राष्ट्रका लागि ठीक होइन।”
बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ दलको प्रयासविरुद्ध विपक्षी दलले संसद र उपसभामुखको स्वतन्त्रता बचाउन एक भएर प्रतिरोध गर्ने निर्णय गरेको बताए।
त्यस्तै,नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भने, “संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखलाई हटाउने प्रयास भइरहेको छ। यस्तो कदम कुनै हालतमा सफल हुन दिइने छैन।”
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पनि विपक्षी दललाई कमजोर पार्न गरिने सबै प्रकारका षड्यन्त्रको प्रतिकार गर्नुपर्ने जोड दिएका थिए।












