काठमाडौं । नेकपा एमालेकी नेता बिन्दा पाण्डेले जेनजी आन्दोलनको आक्रोशलाई सम्बोधन गर्न ठूला दलका शीर्ष नेताले बाटो प्रशस्त गर्नु पहिलो कदम हुने धारणा व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आन्दोलनले उठाएका विषय र युवाहरुको भावनालाई बुझ्न हरेकले आफ्नो परिवार, आफन्त र छिमेकका त्यही समूहका युवाहरूसँग धैर्यपूर्वक संवाद गर्नुपर्ने उल्लेख गरेकी छन्।
‘ठूला दलका शीर्ष नेताप्रति युवाहरुको आक्रोशलाई समीक्षा गरी बाटो प्रशस्त गर्नु पहिलो कदम हुनेछ,’ पाण्डेले लेखेकी छन्।
उनका अनुसार बाँकी नेतृत्वले पनि पद र संस्थाको गहन समीक्षा गरेर नीति, विधि र नेतृत्वमा रुपान्तरण ल्याउँदै आम नागरिकबीच सहज स्वीकार्य बन्न ढिलाइ गर्नु हुँदैन।
पाण्डेले सुशासनका बाधकहरूको पहिचान गरी आवश्यक कारबाहीको निरन्तर प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिँदै पहिलो पुस्ताको बिदाइपछि जेन–वाई र जेडलाई अग्रस्थानमा राखेर जेन–एक्सले मेन्टरको भूमिका निर्वाह गर्नुपर्ने सुझावसमेत दिएकी छन्।
‘युवाहरुको बुझाइ परिपक्व छ भन्ने प्रमाणित भइसकेको छ,’ पाण्डेले लेख्दै थपेकी छन्, ‘जिम्मेवारीमा सक्षम र कुशल बनाउने काम हाम्रो पुस्ताको पनि हो।’












