काठमाडौं । बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा भएको विमान दुर्घटनाका क्रममा ‘विमान परिचारिकाले ढोका खोल्न नदिएको’ भन्ने समाचारप्रति आपत्ति जनाउँदै प्रष्टीकरण दिएको छ। विमान कम्पनीले शुक्रबार घटेको घटनाको वास्तविकता स्पष्ट पार्दै उक्त समाचार भ्रामक रहेको दाबी गरेको हो।
बुद्ध एयरका अनुसार, विमान रनवेबाट बाहिरिएपछि बायाँपट्टि खाल्डो र पानी देखिएकाले सुरक्षाका दृष्टिले सो ढोका खोल्नु जोखिमपूर्ण थियो। त्यसैले तत्काल बायाँ ढोका नखोलिएको कम्पनीको भनाइ छ।
विमान कम्पनीले ढोका खोल्ने क्रममा विमान परिचारिकाले सुरक्षा प्रोटोकल पूर्ण रूपमा पालना गरेको जनाएको छ। प्रष्टीकरणमा भनिएको छ, “विमान परिचारिकाले दायाँपट्टिको ढोकाको लक खोलेका थिए, तर ढोका ‘जाम’ भई नखुलेपछि उनी तुरुन्तै यात्रुहरूलाई पछाडिको ‘सर्भिस ढोका’मार्फत सुरक्षित रूपमा बाहिर निकाल्न अग्रसर भएका थिए।”
सोही समयमा विमानमा सवार यात्रु उमेश मोक्तानले अगाडिपट्टिको दायाँ ढोका खोल्न तथा अन्य यात्रुहरूलाई शीघ्र बाहिर निकाल्न महत्वपूर्ण सहयोग पुर्याएको बुद्ध एयरले जनाएको छ।
“संकटको घडीमा देखाउनुभएको साहस र सहयोगका लागि यात्रु उमेश मोक्तानप्रति बुद्ध एयर हार्दिक आभार व्यक्त गर्दछ,” कम्पनीले जनाएको छ। साथै, बुद्ध एयरले उहाँको साहसिक कार्यको कदर गर्दै उचित पुरस्कारद्वारा सम्मान गर्ने घोषणा समेत गरेको छ।












