काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय सदस्यता नवीकरण गरी पुनः राजनीतिक जीवनमा फर्किएको घोषणा गरेकी छन्। उनले राष्ट्रपतिको कार्यकाल पूरा भएपछि पार्टीमा फर्किनु स्वाभाविक रहेको बताउँदै आफूलाई पार्टीबाट निष्कासन गर्नु अवैध र अविवेकपूर्ण निर्णय भएको जिकिर गरेकी छन्।
एमालेले सदस्यता नवीकरण अस्वीकार गरेको निर्णयपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले भने, “म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु। अब पदको लालसा छैन। पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउन मैले सदस्यता नवीकरण गरेकी हुँ।”
उनका अनुसार, सदस्यता नवीकरण भइसकेको विषयलाई विवादको रूपमा खडा गर्नुको औचित्य छैन। उनले भनिन्, “म राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपतिको जिम्मेवारीमा पुगेकी हुँ। त्यसैले अब पुनः दलमा आबद्ध भइ देश र जनताको सेवा गर्न चाहनु कुनै अनौठो कुरा होइन।”
भण्डारीले एमालेको निषेधात्मक निर्णयको वैधता माथि प्रश्न उठाउँदै, पार्टीले आवेग र उत्तेजनामा गरेको यस्तो निर्णयले स्वयं एमालेको साख गिराउने बताइन्।
एमालेभित्रको यो विवादपछि भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश र पार्टीसँगको सम्बन्ध पुनः स्थापित गर्ने प्रयासलाई राजनीतिक रूपले महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।














