काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले सरकारले नागरिकलाई निरन्तर २४ सै घण्टा बिजुली उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन्। तर, पुराना र कमजोर पूर्वाधारका कारण विद्युत आपूर्तिमा चुनौतीहरू थपिएको उनले स्वीकार गरेका छन्।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री खड्काले भने, “सरकारको चाहना, दबाब र चुनौती सबै बिजुली आपूर्तिलाई सहज बनाउनमा केन्द्रित छ। हाम्रो लक्ष्य आवश्यक परे जति विद्युत उत्पादन गरी खपत गर्ने र बाँकी विद्युत निर्यात गरेर मुलुकको समृद्धि गर्न हो।”
उनले दशकौँ पुराना प्रसारण लाइन र ट्रान्सफर्मरको अवस्था विद्युत आपूर्तिमा समस्या ल्याउने मुख्य कारण भएको बताए। “२१ वर्षअघि तानेको तार अहिले बढ्दो घर संख्या र भारलाई धान्न सक्दैन। यसले ‘ट्रिपिङ’ समस्या निम्त्याएको छ,” मन्त्री खड्काले उल्लेख गरे।
उनले छिमेकी देशहरूले प्राविधिक र आर्थिक क्षेत्रमा ठूलो प्रगति गरिसकेको र नेपालले पनि ती देशहरूको गतिलाई पछ्याउनुपर्नेमा जोड दिए। “हामीले नयाँ सोच र लगानीमार्फत सामुदायिक स्तरबाट पनि ऊर्जा उत्पादनमा अघि बढ्नुपर्छ। पुरानो कुरामा अल्झिएर हुँदैन, नयाँ खोजी गर्नैपर्छ,” मन्त्री खड्काले आव्हान गरे।
उनले सबै नेपाली मिलेर काम गर्दा ऊर्जा क्षेत्रमा समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे।












