काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको नयाँ बानेश्वर, थापागाउँस्थित लाखेचौर मार्गमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेकी छन्। ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को नाममा रहेको भवनको उद्घाटन स्वयं भण्डारीले गरेकी हुन्।
राजनीतिमा पुनः सक्रियता बढाउने घोषणा गरेकी भण्डारीले नेकपा एमाले र जनताको बहुदलीय जनवाद (जबज) को विस्तारका लागि आफ्नै संरक्षकत्वमा बेग्लै संयन्त्रको अभ्यास सुरू गरेकी छन्। सो कार्यालयलाई उनका दिवंगत पति एवं एमालेका तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालमा सम्पर्क कार्यालयका रूपमा प्रयोग गरेको घरमै स्थापना गरिएको हो।
छोरी उषाकिरण अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनमार्फत डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। पौडेल भण्डारीका निकट मानिन्छन्।
यसबीचमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भने भण्डारीको सक्रियताप्रति असन्तुष्ट देखिएका छन्। ओलीले मदन भण्डारी फाउन्डेसनलाई ‘ठगीखाने भाँडो’ को संज्ञा दिँदै आलोचना गरेका थिए। उनले भण्डारीलाई रोक्न पार्टी निर्णयमार्फत सदस्यता नवीकरणसमेत रोकेको थिए।
यद्यपि भण्डारी हालै विराटनगरमा एमाले नेता–कार्यकर्तासँग भेटघाट गर्दै सक्रिय राजनीतिमा फर्किएको सन्देश दिएकी थिइन्।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, सरिता न्यौपाने, बाबुराम गौतम, कृष्ण प्रसाद दाहालसहितका केन्द्रीय सदस्यहरू उपस्थित थिए। त्यस्तै बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, काठमाडौं अध्यक्ष दिपक निरौला, पूर्वमन्त्री महेन्द्र पाण्डेलगायत नेताहरू समेत सहभागी भएका थिए।












