काठमाडौं । आज भूकम्प दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९९० माघ २ गते दिउँसो २:२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।
त्यसो त विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम संख्यामा छन् । तर अहिलेको पुस्ताले बेहोरेको भूकम्प पनि त्योभन्दा कमजोर भने छैनन् । २०७२ सालमा त्यस्तै प्रकारको भूकम्प अनुभव भएकै हो ।
त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रविन्दु भएको भूकम्पले समेत काठमाडौँलगायतका क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको सम्झना दिलाइदियो । जसकारण योवर्षको भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारीरुपमा मनाउने तयारी भइरहेको छ ।
भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विविध कार्यकमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।












