काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । सोमबार एक समरोहबीच सुरुङको ब्रेक थ्रु घोषणा गरिएको हो ।
४४ मेगावाट क्षमताको उक्त आयोजनाको दुई हजार ६ सय ३८ मिटर सुरुङ ब्रेक थ्रु भएको हो । इलेक्ट्रो पावर कम्पनीले करिब १० अर्ब रुपैयाँ लगानीमा उक्त आयोजना निर्माण गरिरहेको हो ।
आयोजना अन्तर्गत ड्याम र पावर हाउस भोटेकोशी गाउँपालिका ३ र ४ मा बन्नेछन् । आयोजना निर्माणको काम एक वर्षभित्रै सक्ने गरी अघि बढाइएको प्रवर्द्धक कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले बताए । कार्कीका अनुसार आयोजनाको करिब ८० प्रतिशत काम सकिएको छ ।
निर्धारित मितिभन्दा पहिल्यै काम सम्पन्न गरेको भन्दै जलविद्युत् आयोजना प्रवर्द्धक कार्कीलाई यसअघि विद्युत् विकास विभागले सम्मान पनि गरेको थियो ।












