काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा शनिबार राति सामूहिक हत्या भएको छ । २७ वर्षीय राजेन्द्र राईले आफ्नी १६ वर्षीया पत्नी मनिषा गिरीसहित उनका ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको धारिलो हतियार (छुरी) प्रयोग गरी हत्या गरेका हुन्।
घटनापछि गम्भीर घाइते भएका राजेन्द्रले आफूलाई पेटमा चोट लागेको जानकारी दिँदै आफैँले प्रहरीलाई फोन गरेर हत्याको स्वीकारोक्ति दिएका थिए ।

‘मैले चार जनालाई छुरी हानेको छु, सायद मरिसके होलान्,’ भन्ने उनको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो ।
हत्याको पृष्ठभूमि : प्रेम, उमेर, अस्वीकृति
प्रहरी अनुसन्धान अनुसार, राजेन्द्रले केही महिनाअघि मनिषासँग दोस्रो विवाह गरेका थिए। मनिषा कानुनी रुपमा विवाहयोग्य थिइनन् । पहिलो पत्नीले छाडेपछि उनले मनिषालाई भगाएर विवाह गरेका थिए ।
तर, मनिषाको माइती पक्षले उमेर नपुगेको भन्दै वैवाहिक सम्बन्ध अस्वीकार गर्दै मनिषालाई फिर्ता लगेको थियो। मनिषा एक महिनादेखि माइतीमै थिइन्। राजेन्द्र ४–५ दिनअघि मात्र उनलाई लिन ससुराली पुगेका थिए। तर, माइती पक्षले छोरी दिन नमानेपछि तनाव उत्कर्षमा पुगेको प्रहरीको भनाइ छ।
राजेन्द्रको प्रारम्भिक बयान अनुसार, राति सुतिरहेका बेला सासूले नै छुरी प्रहार गरेका दाबी गरेका छन् । छुरी खोसेर चारै जनामाथि आक्रमण गरेको उनको प्रहरीसँगको प्रारम्भिक बयानमा बताएका छन् । यद्यपि, प्रहरीले घटनाको पूर्ण सत्यतथ्य पत्ता लगाउन अनुसन्धान जारी राखेको जनाएको छ।
राईलाई थप उपचारका लागि धरान रिफर
पक्राउ परेका राईलाई थप उपचारका लागि धरान रेफर गरिएको छ । पेटमा तीन स्थानमा गम्भीर चोट लागेका र गहिरो घाउ देखिएका अवस्थामा फेला परेका राईलाई प्रहरीले सुरुमा जिल्ला अस्पताल भोजपुरमा लगेको थियो। प्रारम्भिक उपचारपछि उन्नत उपचार आवश्यक परेको भन्दै उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने तयारी भइरहेको भोजपुर प्रहरीले जनाएको छ ।
‘पेटमा प्वाल परेको जस्तो देखिएको र रगताम्ये अवस्थामा फेला परेकोले तत्काल अस्पताल पु¥याइएको थियो,’ भोजपुर प्रहरीका एक अधिकृतले भने, ‘प्रारम्भिक उपचारपछि धरान रेफर गरिएको हो।’












