काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन सङ्घीय निजामती सेवा विधेयक महत्त्वपूर्ण हुने बताएकी छन्।
सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री न्यौपानेले भनसुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य विधेयकले पूरा गर्ने विश्वास व्यक्त गरिन्।
‘अब कर्मचारीको भनसुनका आधारमा सरुवा हुने प्रणालीलाई रोक्न यो विधेयक महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘अनुमानको आधारमा सरुवा हुने कुरालाई व्यवस्थित गर्नुपर्छ। सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन आवश्यक छ। खास गरी यसले सङ्घीयतालाई कार्यान्वयन गर्न टेवा पुर्याउनेछ।’
प्रतिनिधि सभाबाट पारित भइसकेको उक्त विधेयकलाई राष्ट्रिय सभाले थप छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो। समितिमा विधेयकका १९३ बुँदामध्ये १६ समूहमा सांसदहरूले संशोधन प्रस्ताव पेश गरेका छन्।












