तनहुँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारी ऐन प्रतिनिधि सभाको चालु अधिवेशनबाटै पारित हुने स्पष्ट पारेकी छन्।
नेपाल निजामती कर्मचारी संगठन तनहुँले आयोजना गरेको ‘शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताह’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री न्यौपानेले ऐन पारित भएपछि कर्मचारीका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरिन्।
उनका अनुसार ऐन हाल प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको छ। राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा फर्किने र त्यसपछि ऐन जारी हुने प्रक्रिया पुरा हुने जानकारी दिइन्।
“निजामती प्रशासनमा अहिले केही समस्या छन्। तर ऐनले ती समस्या हटाउने छ,” मन्त्री न्यौपानेले भनिन्। उनले कर्मचारी व्यवस्थापन संघीयताको मर्मअनुसार नभएको भन्ने प्रश्न पनि ऐनमार्फत सम्बोधन हुने विश्वास व्यक्त गरिन्।
उनले मन्त्रालयको भूमिका केवल सरुवा र बढुवासम्म सीमित भन्ने धारणा हटाउँदै संघीयता कार्यान्वयन र तीन तहको सरकारबीचको समन्वय पनि मन्त्रालयको प्रमुख जिम्मेवारी भएको स्पष्ट पारिन्।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेशका अध्यक्ष डोलराज पराजुलीले ऐनको अभावले तल्लो तहका कर्मचारीहरू समस्यामा परेको बताए। उनले तत्काल ऐन कार्यान्वयन गरी कर्मचारी प्रशासनमा स्पष्टता ल्याउन माग गरे












