काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले २२ औँ निजामती सेवा दिवस–२०८२को अवसरमा निजामती सेवाले प्रविधिमैत्री, नागरिककेन्द्रित र छरितो सेवा प्रणालीमार्फत छिटो, सरल र पारदर्शी सेवा दिनुपर्ने बताएकी छिन्।
मन्त्री न्यौपानेले आजको युगमा विश्व तीव्र गतिमा रूपान्तरण भइरहेको भन्दै डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा, र नवप्रवर्तनशील उपायहरूको उपयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनु आवश्यक भएको बताइन्।
व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन प्रणाली प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै उनले भनिन्, “निजामती सेवाले सरकारलाई नीति निर्माणमा मात्र सहयोग गर्ने होइन, यसको कार्यान्वयन, सेवा प्रवाह र विकास व्यवस्थापनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।”
मन्त्री न्यौपानेले थपिन्, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य छ। त्यसैले, निजामती सेवाले प्रविधिमैत्री, नागरिककेन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनु अनिवार्य बनेको छ।”
निजामती सेवामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाइ र सुधारमार्फत नागरिकको विश्वास आर्जन गर्न सकिने उल्लेख गर्दै उनले भनिन्, “राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सृजनशील प्रशासनिक संरचना निर्माण गर्नु आजको आवश्यकता हो।”
मन्त्री न्यौपानेले विश्वास व्यक्त गर्दै शुभकामना दिएकी छिन् कि निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई देश र जनताको सेवा गर्न अझ प्रोत्साहित गर्नेछ।












