काठमाडौं। बेनी हाइड्रोपावरले आज आइतबारदेखि पहिलो चरणको प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री खुलाएको हो।
कम्पनीले कुल जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता साधारण सेयर निष्कासनका लागि अनुमति पाएको छ। पहिलो चरणमा त्यसको आधा अर्थात् १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।
यसअन्तर्गत सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का अति प्रभावित बासिन्दालाई ५ लाख २० हजार कित्ता, वडा नम्बर ५, ६, ७ र ११ का बासिन्दालाई ३ लाख १२ हजार कित्ता तथा सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थायी बासिन्दालाई २ लाख ८ हजार कित्ता सेयर छुट्याइएको छ।
त्यसैगरी सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता सेयर श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीका लागि छुट्याइएको छ।
आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आवेदन अवधि छिटोमा चैत १५ गतेसम्म र मागअनुसार ढिलोमा चैत ३० गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ। आवेदन सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, शाखा कार्यालय तथा मेरो सेयर मार्फत अनलाइनबाट पनि दिन सकिनेछ।
कम्पनीलाई इक्रा नेपाल ले ‘डबल बी प्लस’ रेटिङ दिएको छ, जसले दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।












