काठमाडौँ । बारा र पर्सामा हैजा संक्रमण रोक्न सरकारले चलाएको खोप अभियानमा अहिलेसम्म ८ लाखभन्दा बढीले खोप लगाएका छन्। सरकारले २६ असोजदेखि अभियान सुरु गरेको थियो।
परिवार कल्याण महाशाखाका अनुसार पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप खाएका छन्। कुल १० लाख १८ हजार व्यक्तिलाई खोप दिने लक्ष्य राखिएको छ, जसमा हालसम्म ८५ प्रतिशतले खोप लिइसकेका छन्।
हैजा संक्रमण पर्साको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट ६ भदौमा फैलिएको थियो। त्यसपछि संक्रमण वीरगञ्जका अन्य वडा, पर्साका अन्य स्थानीय तह र बाराका केही भागमा पनि फैलिएको थियो।
सरकारले पर्साका सबै १४ स्थानीय तह र बाराका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइरहेको छ। खोप मुखबाट दिइने इयूभिकोल–एस हो, जुन विश्व स्वास्थ्य संगठनले गुणस्तर प्रमाणित गरेको खोप हो र नेपालमा औषधि व्यवस्था विभागमा दर्ता भइसकेको छ।
विशेषज्ञका अनुसार खोप खुवाएको दुई सातापछि यसको प्रभावकारिता ८२ प्रतिशत देखिएको छ। एक वर्षभन्दा कम उमेरका बालबालिका, ज्वरो, झाडापखाला वा कुनै गम्भीर रोग भएका व्यक्तिलाई खोप दिनु हुँदैन। तर स्वास्थ्य अवस्थामा सुधार आएपछि खोप दिइन सक्छ।












