काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयका वार्षिक तथ्यांक अनुसार बैंकिङ कसुरको मुद्दा बढ्दा आत्महत्याको दर केही कम भएको देखिएको छ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य प्रगति विवरण अनुसार, बैंकिङ कसुरका ८ हजार ६८ मुद्दा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको भन्दा ५.८७ प्रतिशतले बढी हो।
यस्तै, आत्महत्याको दरमा कमी आएको छ। उक्त वर्ष काठमाडौं उपत्यकामा ५२७ जनाले आत्महत्या गरेका छन्, अघिल्लो वर्षको भन्दा ५.०४ प्रतिशतले कमी आएको विवरण प्रस्तुत गरिएको छ।
सार्वजनिक हितविरुद्धको कसुरमा १२ सय ३६ मुद्दा दर्ता भएको छ। काठमाडौं उपत्यकामा १० हजार २७ प्रहरी कार्यरत छन् र प्रतिप्रहरीले करिब ३०१ नागरिकको सेवा गर्दै आएका छन्।
आर्थिक अपराधअन्तर्गत, हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएर ५ करोड ९२ लाख रुपैयाँ बिगो कायम गरिएको छ। अनलाइन सट्टेबाजीबाट ९ अर्ब २४ करोड रुपैयाँ बिगो कायम भएको छ।
जबरजस्ती करणीका ३४३ मुद्दा दर्ता भए, जुन अघिल्लो वर्षको तुलनामा ४.१८ प्रतिशतले कमी हो। ज्यान मार्ने घटनामा १७७ मुद्दा दर्ता भए, अघिल्लो वर्षको भन्दा ६ प्रतिशतले वृद्धि भएको छ।
फैसला कार्यान्वयनमा ६ हजार ३२१ कसुरदार पक्राउ परेका छन्, जसबाट ३८ करोड ३५ लाख रुपैयाँ असुल गरिएको छ। पक्राउ संख्या अघिल्लो वर्षको १४५३ बाट उल्लेखनीय वृद्धि भएको हो।
सवारी दुर्घटनामा, आर्थिक वर्ष २०८१/०८२ मा उपत्यकामा १९० जनाले ज्यान गुमाए र ७ हजार ६३१ घाइते भएका छन्। दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न छन् (६ हजार ५३७ दुर्घटना), त्यसपछि कार र जिप (३ हजार ५८४), बस (९४१), टिपर (१९७), र माइक्रो (२८९) रहेका छन्।












