एजेन्सी । बंगलादेश प्रहरीले पूर्वप्रधानन्यायाधीश एबीएम खैरुल हकलाई बिहीबार बिहान पक्राउ गरेको छ। प्रहरीको डिटेक्टिभ शाखा (डीबी) टोलीले स्थानीय समयअनुसार बिहान ८ बजेतिर उनलाई राजधानी ढाकास्थित धानमन्डीस्थित निवासबाट पक्राउ गरेको हो।
डीबी प्रहरीका संयुक्त आयुक्त नासिरुल इस्लामले पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी पुष्टि गरेका छन्। “हो, हामीले उहाँलाई पक्राउ गरेका छौँ,” इस्लामले भने, “उहाँविरुद्ध तीनवटा मुद्दा छन्।”
पूर्वप्रधानन्यायाधीश हकमाथि भ्रष्टाचार र न्यायिक फैसलामा हेरफेर गरेको आरोप लागेको छ। गत अगस्ट १८ मा सर्वोच्च अदालतका वकिल मुजाहिदुल इस्लाम शाहिनले शाहबाग प्रहरी चौकीमा खैरुलविरुद्ध मुद्दा दायर गरेका थिए।
यसअघि १५ अगस्टमा नारायणगन्जको फतुल्ला थाना अन्तर्गत अर्को मुद्दा दर्ता गरिएको थियो। उक्त मुद्दा बीएनपीका महासचिव एवं नारायणगन्ज जिल्ला बार एसोसिएसनका पूर्वअध्यक्ष अब्दुल बारी भुइयाँले दायर गरेका थिए।
भुइयाँको आरोप अनुसार, खैरुल हकले १३ वर्षअघि कार्यवाहक सरकारको व्यवस्था खारेज गर्ने क्रममा संविधानको १३औँ संशोधनमा गरिएको ऐतिहासिक फैसला प्रक्रियागत रूपमा परिवर्तन गरी जालसाजी गरेका थिए।
सन् २०१० को अक्टोबर १ देखि २०११ मे १७ सम्म बंगलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा सेवा गरेका खैरुलले आफ्नो कार्यकालको अन्त्यतिर विवादास्पद निर्णय गर्दै संविधानको १३औँ संशोधन असंवैधानिक घोषणा गरेका थिए। उक्त निर्णयले चुनावको समयमा कार्यवाहक सरकारको अभ्यास समाप्त गराएको थियो।
बंगलादेशमा हाल नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार क्रियाशील छ। अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनपछिको यो अन्तरिम सरकार विभिन्न तहका पूर्वअधिकारी र नेताविरुद्ध कारबाही गरिरहेको छ।












