काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ९६ प्रतिशत वन डढेलो मानवीय कारणले भएको तथ्याङ्क सुनाएका छन्। सोमबार (आज) बसेको संसद् बैठकमा उनले तथ्याङ्क सुनाए, ‘९६ प्रतिशत वन डढेलो मानवीय कारणले हुने देखिन्छ।’
मन्त्री ठकुरीका अनुसार पछिल्लो २० वर्षमा २ लाख हेक्टर वनमा तीन हजारवटा डढेलो लागेका छन्। ‘हाम्रो देशमा करिब ६५ प्रतिशत डढेलो चैत र वैशाख मध्यमा भएको देखिन्छ,’ मन्त्री ठकुरीले भने।
उनले पछिल्लो एक महिनामा मात्रै २५ जिल्लामा ५६ वटा वन डढेलो लागेको बताए। ‘जसमा बागमती प्रदेशमा सबैभन्दा बढी र सुदूरपश्चिममा सबैभन्दा कम छन्। जसमध्ये गत एक हप्तामा मात्रै २२ वटा र विगत तीन दिनमा १६ वटा डढेलो लागेका छन्,’ उनले भने।
गत महिनामा मात्रै वन डढेलो र आगलागीका घटनाको सङ्ख्या ४१३ पुगेको उनले सुनाए। जसमा ९ जनाको मृत्यु, ८४ जना घाइते ३२६ चौपायको मृत्यु र ५३ वटा भौतिक संरचना नष्ट भएको उनले बताएका छन्।
मन्त्री ठकुरीले नेपालमा वार्षिक रूपमा वन डढेलोको कारणले औसत ८ जनाको मृत्यु, ८ जना घाइते र ९१ वटा घरगोठमा क्षति पुग्ने गरेको उनले बताएका छन्।
मन्त्री ठकुरीले औँल्याएका वन डढेलोका कारण-
१, खेतीयोग्य जमिन बाँझो रहनु र वन बस्तीसँग जोडिनु।
२, वनमा ज्वलनशील पदार्थ जम्मा हुँदै जानु।
३, नियतवश आगो लगाइनु।
४, नयाँ पलाउँछ भन्ने बहनामा खरबारीलगायतका ठाउँमा आगो लगाउनु।
५, वन्यजन्तु तस्करी गर्नु।
६, पहाडी क्षेत्रमा स्थानीय समुदायको बसाइसराइँ र युवाशक्तिको अभाव।