काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियतासहित वरिष्ठ नेताको जिम्मेवारी दिएको छ। शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता प्रकाश ज्वालाले गौतमलाई केन्द्रीय विभागहरू संयोजन गर्ने जिम्मेवारी समेत दिएको बताए। त्यस्तै, नेकपा एकता राष्ट्रिय अभियानबाट आएका तीन जनालाई पोलिटब्युरो सदस्य र नौ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय पनि गरिएको छ।
बैठकमा रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचन, वामपन्थी पार्टीहरूसँगको एकताको प्रगति, र सरकारको असफलतासम्बन्धी विषयमा छलफल भएको प्रवक्ता ज्वालाले जानकारी दिए। उनले पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पेश गरेको आत्मालोचनालाई पनि स्वीकार गरिएको र आगामी दिनमा कमजोरी नदोहोरिने प्रतिवद्धता व्यक्त गरिएको बताए।
प्रवक्ता ज्वालाका अनुसार, नेकपा (माओवादी केन्द्र)सँगको अन्तर पार्टी सम्बन्ध सुदृढ गर्ने विषयमा पनि छलफल भएको छ। स्थायी कमिटी बैठक भदौ २५, पोलिटब्युरो भदौ २६, र केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ २७–२८ गते बस्ने योजना रहेको जानकारी दिइयो।












